राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको दौडधुप नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् ।
सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले मन्त्री बन्न अनावश्यक दबाब र दौडधुप गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका हुन् ।
‘मन्त्री बन्न कहीँकतै दौडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ। घरघर धाउनुपर्दैन। कसैसँग फोटो खिच्ने काम नगर्नुहोला,’ लामिछानेले भने ।
उनले पार्टीभित्र गुटबन्दी नगर्न समेत निर्देशन दिए। ‘गुट नबनाउनुहोला। गुट बनाएर कांग्रेस र एमालेलाई जित्न सकिँदैन,’ उनले भने, ‘व्यक्तिकेन्द्रित राजनीति नगरौँ, देशकेन्द्रित राजनीति गरौँ ।’
लामिछानेको भनाइले पार्टीभित्र अनुशासन कायम राख्दै स्वच्छ राजनीतिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ ।