नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको शपथग्रहण कार्यक्रम यही चैत १२ गते दिउँसो २ बजे हुने भएको छ ।
संघीय संसद सचिवालयले जारी गरेको सूचनाअनुसार सांसदहरूले आफ्नो मातृभाषामा समेत शपथ लिन पाउने व्यवस्था गरिएको छ । सचिवालयका अनुसार नेपाली भाषा बाहेक अन्य मातृभाषामा शपथ लिन इच्छुक सांसदहरूले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी त्यसको प्रति शपथ कार्यक्रम हुनुभन्दा कम्तीमा तीन दिनअघि नै सचिवालयमा बुझाउनुपर्नेछ । उक्त कागजात संघीय संसद सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखामा पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी, शपथग्रहण कार्यक्रममा सहभागी हुँदा सांसदहरूलाई आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाक अनिवार्य रूपमा लगाउन पनि सचिवालयले अनुरोध गरेको छ ।
शपथग्रहण कार्यक्रममा निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कार्यक्रममा उपस्थित हुँदा सांसदहरूले निर्वाचित भएको प्रमाणपत्र, नेपाली नागरिकताको सक्कल प्रति तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
सचिवालयले शपथग्रहण कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।