राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रता, समानता र सामाजिक न्यायका लागि भएका आन्दोलनहरूमा मधेसी समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ ।
मधेसी आयोगको स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विभिन्न आन्दोलनहरूको मुख्य उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले जनचाहनालाई आत्मसात् गर्दै राष्ट्र निर्माणको दिशामा अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले हालै सम्पन्न निर्वाचनमार्फत जनताले अभिव्यक्त गरेको विकासको चाहनालाई पूरा गर्न सबै राजनीतिक दल, निकाय र सरोकारवालाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मधेसी समुदायले देशको विकास, सामाजिक रूपान्तरण र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपतिले आयोगले विगत सात वर्षमा मधेसी समुदायको पहिचान, अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि आयोगले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अनिलकुमार सिन्हाले मधेस क्षेत्रका विविध भाषा, कला, संस्कृति र ऐतिहासिक सम्पदा नेपालकै गौरवका विषय भएको बताउनुभयो । उहाँले मधेसी समुदायभित्र पछाडि परेका वर्ग, महिला तथा सीमान्तकृत समूहहरूको हकहित सुनिश्चित गर्न आयोगले ठोस र प्रभावकारी कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सांस्कृतिक तथा भाषिक अधिकारको संरक्षण, प्रवर्द्धन र विकाससम्बन्धी कार्यक्रम कार्यान्वयनमा मधेसी समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा आयोगद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।