सोमबार सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन भने १२ हजार ५ सय रुपैयाँले मूल्य घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।
विशेषज्ञका अनुसार, पश्चिम एसियाली मुलुकमा बढ्दो द्वन्द्वका कारण तेलको मूल्य बढ्दै जाँदा अमेरिकी डलरको माग बढेको छ । यसले सुन बिक्रीबाट डलर जोहो गर्नुपर्ने दबाव सिर्जना गरी सुनको भाउमा गिरावट ल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साथै, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएपछि विश्वव्यापी रूपमा ब्याजदर बढाउन दबाव परेको र यसले सुन–चाँदीको मूल्यमा नकारात्मक प्रभाव परेको देखिएको छ ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला ११५ रुपैयाँले घटेको छ । अघिल्लो दिन चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।