काठमाडौँबाट दोलखाको लाप्चाका लागि आज बिहान करिब १०:२५ बजे उडेको मुस्ताङ एयरको 9N-ANO नम्बरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका एक उपमहानिर्देशकका अनुसार उक्त हेलिकोप्टर लाप्चामा अवतरण गरेर पुनः उडेको केही मिनेटमै सम्पर्कविहीन भएको हो । उडान सुरु भएको केही समयपछि नै हेलिकोप्टरसँग सम्पर्क टुटेको र हालसम्म यसको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार हेलिकोप्टरमा क्याप्टेन सुरज थापा क्षेत्रीसहित कुल ५ जना सवार थिए ।
सम्बन्धित निकायहरूले खोज तथा उद्धार कार्य सुरु गर्ने तयारी गरिरहेका छन् । हेलिकोप्टर दोलखाको लाप्चा क्षेत्रमा हराएको आशंका गरिएको छ ।
दोलखा आसपास क्षेत्रमा भारी वर्षा भइरहेकाले मौसम प्रतिकूल बनेको छ, जसका कारण सम्भावित दुर्घटनास्थलतर्फ पुग्न कठिनाइ भइरहेको जनाइएको छ। यसबीच नेपाली सेनाको टोलीलाई सम्भावित दुर्घटनास्थलतर्फ पठाइसकिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।