चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मधेश प्रदेशमा व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ ।
जनकपुरधाममा आइतबार शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा आयोजित बैठकमा मन्त्री रानीकुमारी तिवारीले परीक्षा केन्द्रमा मोबाइल पूर्ण रूपमा प्रतिबन्ध गरिने बताउँदै मोबाइल फेला परेमा जफत गरी नष्ट गर्ने चेतावनी दिएकी छन् ।
उनले मधेश प्रदेशको शैक्षिक अवस्था खस्कँदो रहेकाले यसप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै परीक्षामा कुनै पनि किसिमको अनियमितता सह्य नहुने स्पष्ट पारिन् । उनका अनुसार केन्द्राध्यक्ष बाहेक अन्य कर्मचारी तथा परीक्षार्थीले मोबाइल वा अन्य विद्युतीय उपकरण लिएमा तत्काल जफत गरिनेछ ।
मन्त्री तिवारीले परीक्षा केन्द्रमा पत्रकारलाई समेत प्रवेश निषेध गरिने बताउँदै रिपोर्टिङ परीक्षा केन्द्र बाहिरबाटै गर्न आग्रह गरिन्। परीक्षा निष्पक्ष बनाउन कडा निगरानीको व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।
बैठकपछि शिक्षा तथा संस्कृति मन्त्रालयका उपसचिव उज्ज्वल पोख्रेलले परीक्षा केन्द्रमा खटिएका कर्मचारीले समेत मोबाइल लैजान नपाउने निर्णय भएको बताए। उनले परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन अमर्यादित गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गरिने बताए ।
यसैगरी, परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष र कर्मचारीलाई पूर्ण जिम्मेवार बनाइने, शिक्षा मन्त्रालय तथा शिक्षा विकास निर्देशनालयका कर्मचारीबाट अनुगमन गरिने र स्थानीय तह तथा जिल्ला शिक्षा इकाइबीच समन्वय गरी निरीक्षण गरिने व्यवस्था गरिएको छ ।
साथै, केन्द्राध्यक्षलगायतका कर्मचारीको पारिश्रमिक परिमार्जनका लागि राष्ट्रिय परीक्षा बोर्डमा प्रस्ताव पठाउने निर्णय पनि गरिएको छ ।
यस वर्ष मधेश प्रदेशबाट ८७ हजार ५ सय ९१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । प्रदेशभर २ सय ९९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १ हजार ३ सय १६ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।