नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गरेका छन् ।
मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफ्नो नेतृत्वको आन्दोलन र मुद्दाले जित हासिल गरेको बताए । जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफूहरूको बलिदानलाई जान्छ भनी उनले उल्लेख गरे ।
दाहालले बालेन्द्र साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरुमध्ये आफू मात्र उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताए ।
उनी भन्छन्, “जुन पार्टीले धेरै सिट ल्याए वा कम सिट ल्याए पनि आन्दोलनका प्रमुख नेताको हैसियतले हिजोको जनयुद्ध, जलआन्दोलन, शान्ति सम्झौता, संविधान सभा र गणतन्त्र निर्माणमा हाम्रो बलिदान, त्याग र तपस्याका कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको हो । त्यसैले यसको रक्षा र परिमार्जन गर्न विशेष जिम्मेवारी छ । सरकार राम्रो काम गरोस्, जहाँ राम्रो हुन्छ त्यहाँ हाम्रो सहयोग रहन्छ, कमी देखे आलोचना हुनेछ । हामी रचनात्मक र सिर्जनात्मक ढंगले अगाडि बढ्नेछौँ ।”
दाहालले मुलुकमा सुशासन र व्यवस्थाको रक्षा गर्न संसदमा रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए ।