माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने गरी तयारी सुरु गरिएको छ ।
विगतमा नतिजा प्रकाशनका लागि तीन महिनासम्म कुर्नुपर्ने बाध्यताका कारण विद्यार्थीको माथिल्लो तहको पढाइमा ढिलाइ हुनुका साथै ब्रिजकोर्सका नाममा ठगी बढेपछि शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डलाई यस्तो निर्देशन दिएका हुन् ।
यस व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्बन्धी नयाँ कार्यविधि एक साताभित्र मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ । नयाँ योजना अनुसार, प्रक्रिया छिटो बनाउन यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइईको नतिजा सोही कार्यविधिअनुसार छिट्टै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।
बाराबाट साधारण नियमिततर्फ ८,३७७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यसैगरी २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १,९३३ जना र २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन् ।
प्राविधिक धारतर्फ नियमित ३७५ जना र ग्रेड वृद्धितर्फ ६३ जना गरी ४३८ जना सहभागी हुनेछन् । यससँगै जिल्लामा कुल १०,८१३ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन् ।
यस वर्ष बाराका १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ ।
परीक्षा व्यवस्थापनका लागि ३० केन्द्राध्यक्ष, ५८ सहायक केन्द्राध्यक्ष, ५२६ निरीक्षक, ९५ परीक्षा सहायक, २०० कार्यालय सहयोगी र ४५० सुरक्षाकर्मी गरी कुल १,३५९ जना जनशक्ति परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई बाराले जनाएको छ ।
v