नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब रुपैयाँ झिक्न निक्षेप संकलन उपकरण (Deposit Collection Facility) मार्फत कदम चाल्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएको कारण राष्ट्र बैंकले बजारबाट पैसा झिक्न यो उपाय थालेको हो । उक्त रकम ३९ दिनका लागि बजारबाट झिकिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा हरेक आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । आज पनि सोही क्रमअनुसार पैसा झिक्न लागिएको हो ।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार, निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
सूचनाअनुसार, निक्षेप संकलन उपकरणमा लगानीका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी रकम निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । बोलकबोल ब्याजदरमा आधारित हुनेछ र बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने व्यवस्था छ ।