सर्लाहीमा सशस्त्र प्रहरीले बिलविजक तथा भन्सार प्रज्ञापनपत्रविहीन किराना सामानसहित एक अटो नियन्त्रणमा लिएको छ ।
चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा खटिएको १० जनाको टोली तथा बिओपी सखुअवाबाट सप्रनानी पुष्कर रिमालको नेतृत्वमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले सवारी जाँचका क्रममा उक्त अटो फेला पारेको हो ।
प्रहरीका अनुसार ज १ ह ४४५१ नम्बरको अटोमा बिलविजक तथा भन्सार प्रज्ञापनपत्रबिना ल्याइएको किराना सामान बरामद गरिएको छ। उक्त अटोमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीय बवी महतोलाई समेत नियन्त्रणमा लिइएको छ ।
सुरक्षा स्रोतका अनुसार महतो लामो समयदेखि सर्लाहीको त्रिभुवननगर क्षेत्रअन्तर्गत सखुअवा तथा पर्सा नाकाबाट किराना लगायतका सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको आशंका गरिएको छ ।
साथै, आफ्नो सामान नियन्त्रणमा लिएपछि उनले सुरक्षाकर्मीहरूलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने, भिडियो बनाएर फसाइदिने तथा जागिरसमेत खाइदिने चेतावनी दिएको एक सुरक्षाकर्मीले बताएका छन् ।
सुरक्षाकर्मीका अनुसार महतोले भन्सार छलीका सामान सहज रूपमा ल्याउन दिनुपर्ने भन्दै सार्वजनिक स्थलमा समेत दुर्व्यवहार गर्ने गरेको आरोप छ ।नियन्त्रणमा लिइएको अटो तथा सामान आवश्यक कारवाहीका लागि मलंगवास्थित भन्सार कार्यालयमा बुझाइएको छ ।
भन्सार कार्यालयका अनुसार अटोको मूल्य ३ लाख ५० हजार रुपैयाँ र किराना सामानको मूल्य १ लाख २७ हजार १२५ रुपैयाँ गरी कुल ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान दाखिला गरिएको छ ।