जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लास्थित सरकारी कार्यालयहरूमा गैरकानुनी रूपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा शुक्रबार जारी सूचनामा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कार्यालय वरिपरि तथा कार्यालयभित्र प्रवेशमै निषेध गरिएको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालय वरिपरि तथा कार्यालयभित्र प्रवेश गरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कार्यालय वरिपरि तथा कार्यालय प्रवेशमा निषेध गरिएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू फेला परेमा कानून बमोजिम कारबाही हुने व्यहोरा जानकारीको लागि सूचित गरिन्छ ।”
जिल्ला प्रशासन कार्यालयले यस्तो गैरकानुनी गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी गरिने जनाएको छ ।