एक हातमा चियाको कप र अर्को हातमा बलिरहेको चुरोट — यस्तो दृश्य चोक, गल्लीदेखि होटल–रेस्टुरेन्टसम्म सजिलै देखिन्छ। धेरैले यसलाई ‘मुड फ्रेस’ र ‘तनाव घटाउने’ उपायका रूपमा लिन्छन् । तर स्वास्थ्य विज्ञका अनुसार यो बानी शरीरका लागि अत्यन्त घातक छ ।
विशेषज्ञहरू भन्छन्, तातो चिया र चुरोटको संयोजनले शरीरभित्र गम्भीर क्षति पुर्याउँछ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही का अनुसार तातो चियाले घाँटी र अन्ननलीको म्यूकस झिल्लीलाई जलाउँछ, जसले साना घाउ ( माइक्रो–इन्जुरी ) बनाउँछ। त्यही कमजोर भागमा चुरोटको धुवाँबाट निस्कने टार, बेन्जिन, फर्माल्डिहाइड र निकोटिनजस्ता हानिकारक रसायन सजिलै प्रवेश गरी डीएनएमा क्षति पुर्याउँछन् ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ओमप्रकाश यादव का अनुसार सामान्य अवस्थामा म्यूकस झिल्लीले हानिकारक कणबाट जोगाउँछ, तर तातो चियाले त्यो सुरक्षात्मक तहलाई कमजोर बनाउँछ । त्यसपछि चुरोटको धुवाँले त्यही संवेदनशील भागमा आक्रमण गर्दा घाउ निको नहुने र असामान्य कोषिका वृद्धि हुने जोखिम बढ्छ ।
यसलाई विज्ञानमा Synergistic Effect भनिन्छ, जसमा दुई तत्व सँगै प्रयोग गर्दा हानि दोब्बर वा अझ बढी हुन्छ ।
वैज्ञानिक प्रमाण के भन्छन् ?
World Health Organization अन्तर्गतको International Agency for Research on Cancer ले ६५ डिग्री सेल्सियसभन्दा तातो पेयलाई ‘प्रोबाब्ली कार्सिनोजेनिक’ समूहमा राखेको छ ।
२०१८ मा Annals of Internal Medicine मा प्रकाशित चीनको अध्ययनले दैनिक तातो चिया र चुरोट सेवन गर्ने व्यक्तिमा अन्ननली (एसोफेगस) क्यान्सरको जोखिम करिब २ गुणा बढ्ने देखाएको छ । यदि रक्सी पनि थपियो भने जोखिम ५ गुणासम्म पुग्ने पाइएको थियो ।
नेपालमा अवस्था
GLOBOCAN अनुसार नेपालमा वार्षिक हजारौँ क्यान्सरका नयाँ केस देखिन्छन्। २०२२ मा करिब २२ हजार नयाँ क्यान्सर बिरामीमध्ये अन्ननली क्यान्सरका २५२ केस रहेका थिए ।
यो क्यान्सर विशेषगरी Esophageal Squamous Cell Carcinoma का रूपमा देखिन्छ, जसले निल्न गाह्रो हुने, तौल घट्ने, घाँटी दुख्ने जस्ता लक्षण ल्याउँछ र ढिलो पत्ता लाग्दा उपचार जटिल हुन्छ ।
शरीरमा पर्ने असर
यो बानीले शरीरमा बहुआयामिक असर पार्छ:
घाँटी र अन्ननलीमा जलन र घाउ
मुटुको धड्कन र रक्तचाप वृद्धि
फोक्सोमा टार जम्मा, सास फेर्न समस्या
पेटमा एसिडिटी, अल्सर र रिफ्लक्स
कलेजो र मिर्गौलामा दीर्घकालीन क्षति
दीर्घकालमा यसले अक्सिडेटिभ स्ट्रेस बढाएर शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ ।
कसरी बच्ने?
चिया पिएपछि तुरुन्त चुरोट नपिउने (कम्तीमा १०–१५ मिनेट पर्खने )
चिया अत्यधिक तातो अवस्थामा नपिउने
चुरोट छोड्न चिकित्सकीय सहयोग (निकोटिन प्याच वा औषधि) लिने
स्वस्थ विकल्प (पानी, फलफूल, ग्रीन टी) अपनाउने
नियमित व्यायाम र तनाव व्यवस्थापन गर्ने
स्वास्थ्य विज्ञहरूका अनुसार ‘चिया र चुरोटको कम्बिनेशन’ कुनै रमाइलो बानी होइन, बरु दीर्घकालीन रूपमा घातक रोग निम्त्याउने जोखिमपूर्ण व्यवहार हो ।