नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई आगामी पाँच वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।
गत फागुन २४ गते तत्कालीन डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्यकाल सकिएसँगै राष्ट्र बैंकमा दुई विशिष्ट पद रिक्त भएको थियो । यसमध्ये आज एउटा पदमा मात्र नियुक्ति गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार, गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त दुई पदका लागि चार जना कार्यकारी निर्देशकहरूको नाम सरकारसमक्ष सिफारिस गरेका थिए ।
नवनियुक्त डेपुटी गभर्नर किरण पण्डित हाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। उनी २०८६ सालमा राष्ट्र बैंकमा प्रवेश गरी २० वर्षको सेवा अवधिमा डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा पनि काम गरिसकेका छन् ।
पण्डित वित्तीय क्षेत्रको नियमनमा अब्बल मानिन्छन् । विशेषगरी स्वार्थ समूहको प्रभावलाई चिरेर ठूला निर्णय लिन सक्ने क्षमता भएकाले उनी नियमन विभागमा हुँदा ल्याएको चालु पुँजी कर्जासम्बन्धी निर्देशन व्यवसायीहरूमाझ प्रभावकारी रहेको थियो ।
उनले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजन, साथै भुक्तानी प्रणाली विभागको प्रमुखको रूपमा काम गरिसकेका छन् । कार्यकारी निर्देशक बन्नुअघि उनी लामो समय नियमन विभागकै निर्देशकको रूपमा समेत कार्यरत थिए ।