काठमाडौँ महानगरपालिकाले टुकुचा खोलाको क्षेत्राधिकारभित्र रहेका खोला माथि घर तथा सडकहरु बनाएकाले सडकहरुमा भ्वाङ पर्न थालेको बताएका छन् ।
महानगरले यसअघि जोखिमपूर्ण अवस्थामा रहेका टुकुचा खोला खुला गर्ने कार्य आरम्भ गरेको भए पनि अदालतको आदेशका कारण रोकिएको थियो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले टुकुचा खोलाको क्षेत्राधिकारभित्र रहेका जग्गा सम्बन्धित मन्त्रालयमा पत्राचार गरी कानून बमोजिम लगत कट्टा गर्नको लागि अनुरोध गरिएको जानकारी दिएका छन् । सरकारले चाँडोभन्दा चाँडो लगत कट्टा गरी उचित क्षतिपूर्ति वा मुअब्जा प्रदान गर्दै खोलाको अधिकार खोलालाई नै सुम्पिनुपर्ने शुक्रबार महानगर परिसरमा रहेको टुकुचामाथिको सडकमा भ्वाङ परेपछि उनले स्टाटस लेख्दै बताएका छन् ।
स्टाटसमा उनले भने, "यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।"
महानगरले अदालती प्रक्रिया पूरा भएपछि खोला खोल्ने कामलाई तीव्रता दिने मेयर साहले बताएका छन् । टुकुचा खोलाको क्षेत्राधिकारभित्रका अवैध संरचनाहरू हटाई प्राकृतिक जलमार्ग खुला गर्ने महानगरको यो पहलले शहरको प्राकृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने महानगरको अपेक्षा छ ।