सप्तरी प्रहरीले मोटरसाइकल चोरी तथा सवारी ज्यान मुद्दामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चोरी मुद्दाका डाक्नेश्वरी नगरपालिका–९ निवासी ३१ वर्षीय मो. हकिम र सवारी ज्यान मुद्दाका डाक्नेश्वरी नगरपालिका – १ निवासी ३८ वर्षीय महेशकुमार चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरी का अनुसार चोरी मुद्दामा मो. हकिमलाई सोमबार अपराह्न करिब ४:४५ बजे राजविराज नगरपालिका–७ स्थित उच्च अदालत जनकपुर इजलास राजविराज अगाडि पार्किङ गरिएको स ८५ प १८०९ नम्बरको अपाचे मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा स्थानीयवासी र प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले चोरी गरिएको मोटरसाइकलसमेत बरामद गरेको छ । उक्त मुद्दामा सप्तरी जिल्ला अदालत बाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
त्यस्तै सवारी ज्यान मुद्दामा पक्राउ परेका महेशकुमार चौधरीले २०८२ माघ १४ गते साँझ बोदेबर्साइन नगरपालिका – २ स्थित सडकखण्डमा मोटरसाइकल चलाउने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका महेन्द्र मलिकको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका चौधरी सोमबार आफैं इलाका प्रहरी कार्यालय कडरबोनामा उपस्थित भएका थिए। सोधपुछका क्रममा उनले घटना स्वीकार गरेपछि प्रहरीले नियन्त्रणमा लिई चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।