टेक कम्पनी Apple Inc. ले आफ्नो बहुप्रतिक्षित ‘स्मार्ट ग्लास’ (Smart Glass) का चारवटा फरक डिजाइन परीक्षण गरिरहेको खुलासा भएको छ । कम्पनीले सन् २०२७ मा यी चश्मा बजारमा ल्याउने लक्ष्य राखेको छ भने यसै वर्षको अन्त्यसम्म प्रारम्भिक झलक सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।
रिपोर्टअनुसार एप्पलले हाल ठूलो र सानो आकारका आयातकार फ्रेम तथा अण्डाकार र गोलाकार फ्रेम गरी चार प्रकारका डिजाइन परीक्षण गरिरहेको छ । यी डिजाइनहरू कम्पनीका सीईओ Tim Cook ले लगाउने चश्माको शैलीसँग मिल्दोजुल्दा हुने बताइएको छ ।
कम्पनीले यी चश्मा कालो, ओसन ब्लु र हल्का खैरो रङमा उपलब्ध गराउने तयारी पनि गरिरहेको छ ।
विशेषताका हिसाबले यी स्मार्ट ग्लासहरू Ray-Ban Meta smart glasses सँग मिल्दोजुल्दा हुनेछन् । यसमा डिस्प्ले वा स्क्रिन नभई फोटो तथा भिडियो खिच्ने, फोन कल उठाउने र संगीत सुन्ने सुविधा रहनेछ ।
यसमा अण्डाकार क्यामेरा लेन्स प्रयोग हुने तथा उन्नत भ्वाइस असिस्टेन्ट प्रणाली मार्फत प्रयोगकर्ताले सिधै संवाद गर्न सक्ने सुविधा रहने बताइएको छ । एप्पलले लामो समयदेखि विकास गर्दै आएको ‘सिरी’ को सुधारिएको संस्करण पनि यसमा प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ ।
Apple Vision Pro अपेक्षाअनुसार सफल नभएपछि कम्पनी अब सरल र दैनिक प्रयोगमा सहज हुने वेयरेबल प्रविधिमा केन्द्रित भएको देखिन्छ ।
यो नयाँ उत्पादनले भ्वाइस असिस्टेन्ट र वेयरेबल टेक्नोलोजीलाई अझ सहज र व्यावहारिक बनाउने अपेक्षा गरिएको छ, जसले प्रविधि क्षेत्रमा नयाँ तरंग ल्याउन सक्ने विश्लेषण गरिएको छ ।