पूर्वराजा ज्ञानेन्द्र शाहले सबै पक्षका माग समेटेर संवैधानिक समाधान खोज्न ढिलाइ नगर्न आग्रह गरेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेधको राजनीति त्याग्नुपर्ने बताएका छन् ।
उनले निषेध, फुट, बन्द र विद्रोहले देश कमजोर बनाउने भन्दै संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान खोज्न सबैलाई आह्वान गरेका छन् । “निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । जनचाहनालाई मनन गर्दै देशलाई केन्द्रमा राखेर अघि बढ्न ढिलाइ नगरौं,” उनले सन्देशमा भनेका छन् ।
पूर्वराजा शाहले हालको राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै पटक–पटक भएका परिवर्तन केवल “कोरा परिवर्तन” मात्र भएको बताएका छन् । उनका अनुसार राज्य व्यवस्था प्रायः सत्ता हेरफेरमा सीमित भएको र नागरिकले अपेक्षित विकास र स्थायित्वको अनुभूति गर्न नपाएको अवस्था छ ।
उनले देशको कमजोर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै रोजगारी अभावका कारण ठूलो संख्यामा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गरेका छन् । यसले दीर्घकालीन रूपमा राष्ट्रको भविष्यमा चुनौती थप्न सक्ने उनको भनाइ छ ।
पूर्वराजा शाहले नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । बाह्य प्रभाव र आन्तरिक अस्थिरताले देशको मौलिक पहिचान कमजोर हुन सक्ने उनको चेतावनी छ ।
उनले सबै राजनीतिक शक्तिहरूबीच साझा सहमति र नयाँ सोच आवश्यक रहेको उल्लेख गर्दै देशहितलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् ।
उनको यो सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।