इरान अमेरिका युद्धका कारण भाडा महँगिएकाे छ । जसले गर्दा सिमरा काठमाडौं हवाई रुटमा यात्रुको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै भाडा बढ्दा यस रुटमा करिब ६५ प्रतिशतसम्म यात्रु घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ ।
पहिले दैनिक ५ सय देखि ६ सय यात्रुले सेवा लिने सिमरा विमानस्थलमा हाल करिब २ सय यात्रु मात्रै ओहोरदोहोर गरिरहेका छन् । इन्धन मूल्य वृद्धिसँगै यस रुटमा एक हजार एक सय रुपैयाँसम्म भाडा बढेको छ । हाल सिमरा–काठमाडौं उडानको भाडा ५ हजार ५५० रुपैयाँ र काठमाडौं–सिमराको भाडा ५ हजार १५० रुपैयाँ कायम रहेको छ ।
केही साता यता यस रुटमा सञ्चालन भइरहेको बुद्ध एयरको एटिआर ७२ जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न सकेको छैन । काठमाडौंबाट सिमरा आउने उडानमा बढीमा २५ जना यात्रु मात्र हुने गरेका छन् भने फर्कँदा करिब ३० जना यात्रु रहने गरेको निजी विमान कम्पनीहरूले बताएका छन् ।
बुद्ध एयर सिमरा कार्यालयका प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्लो दुई सातादेखि उडानहरू औसत ५० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका छन् । उनका अनुसार ‘जेनजी आन्दोलन’ पछि यात्रु घट्न सुरु भएको र पछिल्लो समय इन्धन मूल्य वृद्धि र भाडा महँगो हुँदा मध्यम वर्गीय यात्रुको आकर्षण घटेको हो ।
पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरमा अवस्थित सिमरा विमानस्थललाई विशेषगरी राजनीतिक गतिविधि र व्यावसायिक यात्राका लागि प्रयोग गरिँदै आएको थियो । तर नयाँ सरकार गठनपछि राजनीतिक आवतजावत घट्दा पनि यात्रु सङ्ख्यामा असर परेको बताइन्छ ।
यता, सडकमार्गबाट करिब चार घण्टामै काठमाडौं पुग्न सकिने भएकाले अत्यावश्यक बाहेकका यात्रुले हवाई यात्रा छाड्न थालेका छन् । हाल बारा, पर्सा, रौतहट र मकवानपुरसम्मका यात्रुलाई सेवा दिँदै आएको सिमरा विमानस्थलमा बुद्ध एयरले मात्रै एटिआर ७२ जहाजमार्फत दैनिक ५ उडान सञ्चालन गरिरहेको छ । यति एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले भने यस रुटमा सेवा नै बन्द गरिसकेका छन् ।