भारतबाट नेपाल ल्याइने सामानमा अब १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ । नयाँ व्यवस्थासँगै सीमावर्ती बजारबाट हुने अनौपचारिक किनमेलमा नियन्त्रण गर्ने उद्देश्य राखिएको छ ।
भन्सार विभागका अनुसार अर्थ मन्त्रालयले २०८२ जेठ १५ मा परिष्कृत गरेको यात्रु सम्बन्धी भन्सार सुविधा नियमअनुसार स्थलमार्गबाट नेपाल ल्याइने सामानमा यो सीमा लागू गरिएको हो । यसअघि पनि यस्तै व्यवस्था भए पनि पूर्ण रूपमा कार्यान्वयन नहुँदा अब कडाइ गरिएको हो ।
नयाँ नियमअनुसार भारततर्फका बजारबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान नेपाल ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरी शुल्क तिर्नुपर्नेछ। यसअघि सीमावर्ती क्षेत्रमा सानो परिमाणको किनमेलमा यस्तो कडाइ थिएन ।
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार नयाँ नियम राजपत्रमा प्रकाशित भएसँगै सबै मातहत कार्यालयलाई जानकारी दिइएको छ र कार्यान्वयन सुरु भइसकेको छ ।
मधेश प्रदेशका सीमावर्ती जिल्लामा सुरक्षा निकायले माइकिङमार्फत नागरिकलाई सचेत गराउँदै १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने जानकारी दिइरहेका छन् ।
स्थानीय भन्सार कार्यालयहरूले पनि सूचना जारी गर्दै भारतबाट आउने यात्रुले ल्याउने सामानमा नियम कडाइ गरिएको स्पष्ट पारेका छन् ।
विभागका अनुसार व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँसम्मका सामानमा पनि जाँच प्रक्रिया भने लागू हुनेछ । तर त्यसभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार शुल्क लाग्नेछ ।
भन्सार कार्यालयका कर्मचारीहरूका अनुसार यस नियमले सीमा क्षेत्रमा हुने अनियन्त्रित किनमेल नियन्त्रण गर्ने र स्थानीय बजारलाई संरक्षण गर्ने उद्देश्य राखिएको छ । साथै, नेपाली रुपैयाँ बलियो हुँदा भारतीय बजारतर्फ बढेको किनमेल प्रवृत्तिले स्थानीय व्यापार प्रभावित भएको भन्दै त्यसलाई रोक्ने प्रयास गरिएको जनाइएको छ ।
विराटनगर भन्सार कार्यालयले पनि सीमामा कडाइ गर्दै माइकिङमार्फत यात्रुलाई जानकारी दिइरहेको छ ।