बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार ५६ दिनका लागि उक्त रकम निक्षेप संकलन उपकरणमार्फत संकलन गर्न लागिएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा अतिरिक्त तरलता बढेपछि नियमित रूपमा यस्तो प्रक्रिया अपनाउँदै आइएको छ ।
यसअघि पनि राष्ट्र बैंकले हप्तामा दुई पटक — आइतबार र बुधबार — बजारबाट रकम झिक्ने अभ्यास गर्दै आएको थियो ।
आज दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणमा लगानी गर्न न्यूनतम १० करोड रुपैयाँ र त्यसको गुणक (५ करोडले भाग जाने) अनुसार बोलकबोल गर्नुपर्ने व्यवस्था गरिएको छ । बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिनेछ ।
खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ ।