राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूका सभापतिमा आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ ।
रास्वपा संसदीय दलको बैठकले समितिगत नेतृत्वका लागि उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रहबर अन्सारीलाई उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवार बनाएको छ । अन्सारीलाई औद्योगिक तथा श्रम क्षेत्रको अनुभवका आधारमा उक्त जिम्मेवारीका लागि अघि सारिएको छ ।
त्यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने पूर्वाधार विकास समितिको नेतृत्वका लागि आशिष गजुरेललाई अघि सारेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासलाई उम्मेदवार बनाएको हाे ।
अर्थ समितिको सभापतिमा कृष्णहरी बुढाथोकीलाई उम्मेदवार बनाउँदा महिला तथा सामाजिक मामिला समितिका लागि आकृति अवस्थीलाई अघि सारिएको छ ।
यसैगरी, संसदीय सुनुवाइ समितिको संयुक्त सभापतिमा बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त सभापतिमा गणेश कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रास्वपाले संसदभित्र आफ्नो सक्रिय भूमिका विस्तार गर्दै सुशासन, पारदर्शिता र जनमुखी नीतिलाई प्राथमिकतामा राखेर समितिहरूमा प्रभावकारी उपस्थिति जनाउने रणनीतिसहित उम्मेदवार चयन गरेको जनाएको छ । पार्टीका नेताहरूका अनुसार विषयगत दक्षता, क्षेत्रगत प्रतिनिधित्व र कार्यसम्पादन क्षमतालाई आधार मानेर उम्मेदवार टुंग्याइएको हो ।
संघीय संसदअन्तर्गतका यी समितिहरू नीति निर्माण, कानुन संशोधन तथा कार्यान्वयनको निगरानीका दृष्टिले महत्वपूर्ण मानिन्छन् ।