सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना ले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र को निरीक्षण गर्दै सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने घोषणा गरेका छन् ।
मन्त्री तिमिल्सिनाका अनुसार अब ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था आजैदेखि लागू गरिएको छ । यसअघि लाइसेन्सका लागि महिनौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य लिइएको उनले बताए ।
उनले आगामी असार मसान्तभित्र हालसम्म बाँकी रहेका सबै लाइसेन्स छापिसक्ने लक्ष्य राखिएको जानकारी दिए ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण तथा जेनेरेटरहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएका छन् । साथै, नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन र सेवाग्राहीका गुनासा तत्काल समाधान गर्न जोड दिएका छन् ।
उनले आगामी एक वर्षभित्र देशभर गुणस्तरीय इन्टरनेट तथा टेलिकम सेवा विस्तार गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ । वैशाख १२ गतेभित्र १२ लाख र असार मसान्तसम्म थप १७ लाख लाइसेन्स छाप्ने लक्ष्यसहित काम भइरहेको छ ।
भविष्यमा यही केन्द्रबाट राहदानी, अन्तःशुल्क स्टिकर र चेकबुक जस्ता महत्वपूर्ण कागजातहरू छाप्ने गरी करिब आठ अर्ब रुपैयाँको विस्तृत योजना सरकारसमक्ष पेश गरिएको छ ।