बाराको सिम्रौनगढ नगरपालिकामा छाडा कुकुरको आक्रमणबाट ठूलो क्षति भएको छ । गएराति सिम्रौनगढ नगरपालिका–६ सानो ईटवाल निवासी नाजिर हुसैन “भोटू” को खसी–बाख्राको खोर तोडेर कुकुरले आक्रमण गर्दा आठ वटा खसी–बाख्रा मरेका छन् ।
स्थानीयका अनुसार करिब २५ देखि ३० केजी तौल भएका दुई वटा खसी, दुई वटा बाख्रा र चार वटा पाठापाठी मरेका हुन् । यस घटनाबाट करिब एक लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको पीडित पक्षले जनाएको छ ।
छाडा कुकुरको लगातार बढ्दो आक्रमणका कारण सिम्रौनगढ क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । रातिको समयमा घरपालुवा जनावर मात्र होइन, मानव बस्ती नजिक समेत कुकुरको झुण्ड देखिन थालेपछि स्थानीयमा असुरक्षाको भावना बढेको छ ।
स्थानीयवासीले यस्ता छाडा कुकुरको नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई तत्काल कदम चाल्न माग गरेका छन् । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सिम्रौनगढ क्षेत्रमा पछिल्ला केही समयदेखि छाडा कुकुरको आक्रमणबाट बाख्रा–पाठापाठी मर्ने घटनाहरू बारम्बार दोहोरिँदै आएका छन् । तर समस्या समाधानका लागि प्रभावकारी पहल नहुँदा स्थानीय थप चिन्तित बनेका छन् ।
स्थानीय बासिन्दाले नगरपालिकासहित सम्बन्धित निकायलाई छाडा कुकुर नियन्त्रण अभियान सञ्चालन गर्न, नसबन्दी तथा व्यवस्थापन कार्यक्रम प्रभावकारी बनाउन र जोखिमयुक्त क्षेत्रमा नियमित निगरानी बढाउन माग गरेका छन् ।
यस घटनाले ग्रामीण क्षेत्रमा छाडा जनावर व्यवस्थापनको चुनौती फेरि एकपटक उजागर गरेको छ ।