सम्पत्ति विवरणका कारण विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।
गृहमन्त्री गुरुङले केहीबेर अघि प्रधानमन्त्री बालेन शाहलाई राजीनमापत्र बुझाएका हुन् । राजीनमा बुझाउन गुरुङ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए ।
प्रधानमन्त्री कार्यालय स्रोतले गुरुङले राजीनामा दिएको पुष्टि गर्यो । उहाँले राजीनामा बुझाउनु भयो– स्रोतले भन्यो । राजीनामापत्रमा उनले के लेखेका छन् भन्ने खुलेको छैन ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका बिचौलिया दीपक भट्ट र शंकर ग्रुपसँग मन्त्री गुरुङको व्यावसायिक सम्बन्ध देखिएको भन्दै आलोचना भएको थियो । मन्त्री गुरुङले हिजो मात्रै दुई पटक रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए भने हिजो राति अबेरसम्म प्रहरी प्रमुखहरुसँग अनुसन्धान जारी रहेका विभिन्न फाइलका बारेमा छलफल गरेका थिए ।
जेनजी आन्दोलन र त्यसको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका गुरुङ चुनावअघि रास्वपा प्रवेश गरेका थिए भने रास्वपाबाटै उम्मेदवार बनेर गोरखा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए ।
नयाँ सरकार गठन भएको एक महिना नबित्दै मन्त्रिपरिषदबाट बाहिरिने गुरुङ दोस्रो मन्त्री हुन् । यसअघि श्रममन्त्री दीपक साहलाई १३ दिनमै रास्वपाले मन्त्रीबाट हटाएको थियो । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा पुन सक्रिय बनाउन पदीय मर्यादा उल्लंघन गरेको भन्दै रास्वपाले साहलाई मन्त्रीबाट हटाएको थियो ।