गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय शेयर बजार र अन्य विषयमा आफूमाथि उठेका प्रश्नहरूको नैतिक जिम्मेवारी लिँदै उनले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले जनस्तरबाट उठेका टिप्पणी र सुशासनको मागलाई सम्मान गर्दै पद त्याग गरेको बताएका छन् ।
आफ्नो फेसबुक स्टाटसमा उनले पदभन्दा नैतिकता ठूलो भएको उल्लेख गर्दै उनले "मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन ।" विशेषगरी *Gen Z* पुस्ताले गरिरहेको आन्दोलन र पारदर्शिताको मागलाई आत्मसाथ गर्दै राजिनामा दिएकाे बताएका छन् ।
आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् र पदमा रहँदा 'स्वार्थको द्वन्द्व' (*Conflict of Interest*) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले प्रष्ट पारेका छन् ।
उनलेे स्टाटसमा "मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने, त्यसको जवाफ नैतिकता नै हो," उनले भावुक हुँदै लेखेका छन् ।
राजीनामासँगै उनले सञ्चारकर्मी र आम नागरिकलाई सत्य र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन् । केही सञ्चारकर्मीहरूको शेयर लगानीका विषयमा पनि प्रश्न उठाउँदै उनले 'रामराज्य' को चाहना राख्नेहरूले त्याग र साहस देखाउनुपर्ने चुनौती दिएका छन् ।
सुदन गुरूङकाे राजिनामासँगसँगै गृह मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।