जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित छ, जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले दिएको जानकारीअनुसार, कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । यस्तै, आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विशेष गरी कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले आगामी २४ घण्टामा पनि सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। कोशी, मधेस, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।