भैरहवा, पर्सा, परासी, नेपालगन्ज र विराटनगर लगायतका सीमावर्ती क्षेत्रमा सरकारले भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान किनेर ल्याउँदा भन्सार महसुल अनिवार्य गरिएको प्रचार तीव्र बनाएको छ ।
सशस्त्र प्रहरीले नाका क्षेत्रमा माइकिङ गर्दै सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने जानकारी गराइरहेको छ । साथै, सुरक्षाकर्मी र भन्सार कर्मचारीले नाकामा सामान जाँचमा कडाइ गरेका छन् ।
यस कडाइका कारण सीमापारिका भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको संख्यामा उल्लेख्य कमी आएको छ । नेपालतर्फको निगरानी बढेपछि सीमावर्ती भारतीय बजारहरू सुनसान हुन थालेका छन् ।
रूपन्देहीसँग सिमाना जोडिएको भारतको सुनौली बजारमा पछिल्लो एक सातायता चहलपहल घटेको देखिएको छ । अन्य कामकाजका लागि नेपाल–भारत ओहोरदोहोर गर्नेबाहेक किनमेलका लागि सीमापारि जानेको संख्या न्यून भएको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार घरायसी प्रयोजनका नाममा ठूलो परिमाणमा बिनाभन्सार सामान ल्याउने प्रवृत्ति रोक्न कडाइ गरिएको हो ।
उनले भने, “कडाइका कारण पहिलेझैँ किनमेलका लागि भारतीय बजार जाने नेपाली उपभोक्ताको संख्या घट्दै गएको छ । भन्सार नाका हुँदै दिनमा पटक–पटक सामान ओसार्ने तस्करीसमेत नियन्त्रणमा आएको छ ।”