नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको वार्षिकककोत्सव समारोहमा गभर्नर पौडेलले उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको बताए । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । उनका अनुसार शोधनान्तर स्थितिः शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ ।
‘हाल उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ। शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ र वित्तीय क्षेत्रमा निष्कृय कर्जाको अनुपात केही बढेको भएपनि आर्थिक गतिविधि चकलायमान भएसँगै यसमा सुधार आउने अपेक्षा छ’, उनले भने ।
उनले मौद्रिक नीतिलाई थप तथ्यपरक र ‘फरवार्ड लुकिङ’ बनाउन बैंकले ‘म्याक्रोइकोनोमिक रिपोर्ट’ प्रकाशन शुरु गरेको र ब्याजदर करिडोरमार्फत कार्यान्वयनलाई पारदर्शी बनाएको बताए ।
उनले चुनाव पछि स्पष्ट जनादेश आएको बताउँदै अब मुलुकमा स्थायित्व कायम रहनेमा विश्वास समेत व्यक्त गरे ।
गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताए विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ।
पश्चिम एशियाको भू-राजनीतिक तनाव, इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको उनको भनाइ छ ।