मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७० अंकमा झरेको छ । अघिल्लो दिन भने नेप्से ७.७ अंकले बढेको थियो ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको वर्चस्व रहेको बजारमा सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि त्यसको प्रभाव सूचकमा देखिएन ।
मंगलबार सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार अधिकांश संस्थाको नाफा र प्रतिसेयर आम्दानी (EPS) मा सुधार देखिएको छ । लोन लस प्रोभिजन (इम्पेयरमेन्ट चार्ज) पनि केही घटेको छ र धेरैजसो संस्था लाभांश दिन सक्ने अवस्थामा देखिएका छन् ।
तर नउठेको ब्याज तथा साँवा असुलीमा चुनौती कायमै रहेकाले बजारमा सकारात्मक प्रभाव पर्न सकेन ।
यसका साथै उद्योगी–व्यवसायीमाथि भएको धरपकडको असर पनि बजारमा देखिँदै आएको छ । केही दिन सामान्य सुधार भए पनि अधिकांश दिन बजार घट्दो क्रममा रहेको छ ।
मंगलबार ४२ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घट्यो भने १४ कम्पनी स्थिर रहे। अन्य समूह बाहेक सबै उपसूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.४६ प्रतिशतले घट्यो ।
बैंकिङ ०.८४, विकास बैंक १.२२, हाइड्रोपावर १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन् ।
कुनै पनि कम्पनीको शेयर मूल्यमा दोहोरो अंकको वृद्धि हुन सकेन। हिमालयन बैंक डिबेन्चर ८६ को मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढ्यो । साइन रेसुङ्गा विकास बैंक डिबेन्चर ३.४० प्रतिशत र सानिमा डिबेन्चर २०८९ को ३.१७ प्रतिशतले वृद्धि भयो ।
घट्ने कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घट्यो । रिजलाइन इनर्जी १०.२७, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ९.९४, सिटी होटल ९.२५ र भुजुङ हाइड्रोपावर ८.५६ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक रहेका छन् ।