मौसमको अवस्था प्रतिकूल बन्दै गएपछि कृषि विभागले किसानलाई खेतमा काटेर राखिएको गहुँ तत्काल नछाड्न र सुरक्षित रूपमा भण्डारण गर्न आग्रह गरेको छ ।
विभागका अनुसार हाल देशका विभिन्न भागमा हुस्सु, कुहिरो र वर्षा भइरहेकाले खेतमै राखिएको गहुँमा क्षति हुने जोखिम उच्च रहेको छ । त्यसैले काटिएको गहुँलाई सकेसम्म चाँडो घरमा ल्याएर भण्डारण गर्न किसानलाई सुझाव दिइएको हो ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले गहुँ भण्डारण गर्दा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्चसम्म सुकाइएको नीम, बकाइनो र तितेपाती जस्ता बोटबिरुवाका पात प्रयोग गर्न सुझाव दिएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सूचना केन्द्रले पनि किसानलाई बाली संरक्षण, उत्पादन वृद्धि, क्षति न्यूनीकरण र बजारीकरणसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउँदै आएको छ ।
केन्द्रका अनुसार यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ । साथै, खेतमा बाँकी रहेका कृषि अवशेष नजलाउन पनि किसानलाई आग्रह गरिएको छ ।
यता, गर्मी बढेसँगै लामखुट्टे, झिँगा र किर्ना जस्ता कीराहरूको सङ्ख्या बढ्ने तथा पशुमा लम्पी स्किन रोगको जोखिम पनि देखिएको छ ।
कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार गाईभैँसीमा लम्पी स्किन रोग फैलिन नदिन पशुपालक किसानलाई खोप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।