नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा गरिएको कडाइका कारण सीमा आसपास बसोबास गर्ने नेपाली नागरिकले भोग्नुपरेका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित ‘ग्रिन टेबल’ कार्यक्रमको पहिलो श्रृंखलामा बोल्दै उनले भन्सार कडाइका कारण स्थानीय नागरिकको दैनिक जीवनयापनमै असर परेको उल्लेख गरे । यस विषयमा संसद तथा अन्य माध्यमबाट सरकारलाई गम्भीर ध्यान दिन आग्रह गरिने उनले बताए ।
थापाले भन्सार क्षेत्रमा सुरक्षाकर्मीबाट हुने व्यवहारले नागरिकको आत्मसम्मानमा चोट पुगेको गुनासो आएको उल्लेख गर्दै कडाइ गर्दा व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने बताए । “भन्सार सुधारको नाममा सर्वसाधारणलाई अनावश्यक दुःख दिने काम हुनु हुँदैन,” उनले भने ।
उनले विगतमा नेपाली कांग्रेस सरकारमा रहँदा सय रुपैयाँभन्दा बढीका सामानमा कर लगाउने निर्णय गर्दा उत्पन्न दबाबका कारण पछि हट्नुपरेको अनुभव समेत सुनाए ।
सभापति थापाले सीमावर्ती क्षेत्रमा देखिएका अव्यवहारिक गतिविधिहरू स्थायी रूपमा अन्त्य गर्नुपर्नेमा जोड दिँदै जनताका गुनासा सुन्न सरकार तयार हुनुपर्ने बताए । सीमामा बस्ने नागरिकलाई अपराधीजस्तो व्यवहार गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।