जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न स्थानमा वर्षा र बदलीको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ । यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै बाँकी भू–भागका एक–दुई स्थानमा समेत यस्ता गतिविधि देखिन सक्ने जनाइएको छ ।