फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ ।
अक्सर खानपिनका कुरा लामो समयसम्म सुरक्षित राख्न फ्रिजको सहारा लिइन्छ ।
तर, केही खानेकुरा यस्ता पनि छन्, जसलाई फ्रिजमा राख्दा बिग्रिनुका साथै स्वास्थ्यका लागि समेत हानिकारक हुन सक्छ । तुलसी फ्रिजमा राख्दा यसको सुगन्ध अन्य खानेकुरामा सर्ने वा अरूको गन्ध सोस्ने हुन्छ । यसलाई पानीमा राख्दा ताजा रहन्छ र गुणस्तर जोगिन्छ ।
आलु चिसो तापक्रममा राख्दा यसको स्टार्च सुगरमा परिवर्तन हुन्छ ।
यसले स्वाद र गुणस्तरमा असर पार्छ, त्यसैले आलुलाई अँध्यारो र चिसो ठाउँमा राख्नु उपयुक्त हुन्छ । लसुन र प्याज पनि फ्रिजमा राख्दा छिट्टै बिग्रिन सक्छन् ।
यी सामग्रीलाई हावा चल्ने, चिसो र अँध्यारो स्थानमा राख्दा लामो समय टिक्छ । जैतुनको तेल कम तापक्रममा राख्दा जमेर गाढा हुन्छ ।
यसले यसको गुणस्तरमा असर पार्ने भएकाले फ्रिजमा नराख्नु राम्रो हुन्छ ।
रोटी फ्रिजमा राख्दा चाँडै सुक्छ र यसको पोषण तत्व हराउन सक्छ ।
त्यसैले सामान्य तापक्रममै राखेर प्रयोग गर्नु उचित हुन्छ । कफी फ्रिजमा राख्दा यसको स्वाद बिग्रिन सक्छ । यसको गन्ध अन्य खानेकुरामा फैलिन सक्ने भएकाले पनि फ्रिजमा नराख्नु राम्रो हुन्छ । मह फ्रिजमा राख्दा क्रिस्टल बन्न थाल्छ । यसलाई सामान्य तापक्रममा सुरक्षित रूपमा राख्नु उपयुक्त हुन्छ । अचारमा भिनेगरको मात्रा धेरै हुने भएकाले फ्रिजमा राख्न आवश्यक पर्दैन । यसलाई किचेनको चिसो र सुक्खा ठाउँमा राख्दा राम्रो हुन्छ ।
खानालाई सुरक्षित र गुणस्तरीय राख्न सही भण्डारण विधि अपनाउनु अत्यन्त आवश्यक छ ।