सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी ‘डाइभर्सन’ निरन्तरको वर्षासँगै आएको बाढीले बगाएको छ ।
हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको विकल्पका रूपमा बनाइएको उक्त अस्थायी डाइभर्सन आज बिहानको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो । बिहीबार रातिदेखि परेको भारी वर्षापछि नदीमा पानीको बहाव अत्यधिक बढेपछि डाइभर्सन पुनः बगाएको हो । केही दिनअघि पनि सोही संरचना वर्षाका कारण क्षतिग्रस्त भएपछि मर्मत गरी सञ्चालनमा ल्याइएको थियो ।
डाइभर्सन बगेसँगै हाल सयौँ सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा अहिले पानीको बहाव उच्च रहेकाले तत्काल मर्मत सम्भव छैन । उनले भने, “पश्चिमपट्टि पानीको बहाव धेरै छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसिबी प्रयोग गरी बाँध निर्माणको काम अघि बढाइनेछ ।”
कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासी वर्षौंदेखि समस्यामा परिरहेका छन् । पुल नबन्दा बर्खायाममा जोखिम मोलेर डुङ्गा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।