निरन्तर भइरहेको वर्षाले कृषि तथा वन क्षेत्रमा सकारात्मक प्रभाव पारे पनि ग्रामीण भेगका सडक हिलाम्मे हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
महोत्तरीको बर्दीबास, गौशाला र औरही आसपासका उत्तरी क्षेत्रमा लगातार वर्षा भइरहँदा कच्ची सडक बिग्रिएका छन् । सडकका खाल्डाखुल्डीमा पानी जम्दा आवतजावतमा कठिनाइ भएको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा हिलाम्मे बनेका छन् । चुरे क्षेत्रका मडाहा, रातु र खयरमारा खोलामा आएको बाढीले उत्तरी भेगमा आवागमन मात्र होइन, दैनिक जीवनसमेत प्रभावित पारेको स्थानीयले बताएका छन् ।
यद्यपि वर्षाका कारण तापक्रम घट्नुका साथै उखु, मुङ, लहरे तरकारी, आँप र लिची खेती तथा डढेलो प्रभावित वन क्षेत्रमा राहत पुगेको छ । तर सडकको खराब अवस्थाका कारण उत्पादन बजारसम्म पु¥याउन किसानलाई समस्या भइरहेको छ । बर्दीबासको चुरे क्षेत्रमा पर्ने खयरमारा र टुटेश्वर क्षेत्रमा सडकमा पानी जम्दा सवारी सञ्चालन प्रभावित भएको छ। टेम्पो र साना सवारीसमेत चल्न नसक्दा तरकारीको बजारीकरणमा कठिनाइ भएको किसानहरूको गुनासो छ । स्थानीयका अनुसार खोलामा पुल तथा वैकल्पिक बाटो नहुँदा विद्यार्थीलाई विद्यालय जान र किसानलाई खेतबारी पुग्न समेत समस्या भइरहेको छ । वडा नम्बर ११ का वडाध्यक्ष पूर्णबहादुर बलले बजेट अभाव र कानुनी जटिलताका कारण सडक मर्मतमा समस्या भएको बताए ।
सर्लाहीमा असिना र वर्षाले बालीमा क्षति
यता सर्लाहीमा शुक्रबार दिउँसो परेको असिनासहितको वर्षाले तरकारी तथा अन्य बालीमा क्षति पुर्याएको छ । जिल्लाको मुर्तिया, सोल्टी, बरहथवा, शंकरपुर, हजरियालगायत क्षेत्रमा असिनापानीले तरकारी बाली नष्ट गरेको स्थानीयले बताएका छन् । बरहथवा नगरपालिका–५ हात्तीडाँडाका किसान घनश्याम बलम्पाकीका अनुसार असिनाले तरकारीको बोट नै सखाप पारेको छ । त्यस्तै लालबन्दी नगरपालिका–७ डाँडाटोलमा भारी वर्षाका कारण खेतमा पानी जमेर मकैलगायतका बाली डुबानमा परेका छन् । बारम्बारको बेमौसमी वर्षाले यस वर्ष कृषि उत्पादनमा निरन्तर क्षति पुर्याउँदै आएको छ ।
इँटा उद्योगमा पनि असर
लगातार वर्षाका कारण सर्लाहीका इँटा उद्योग पनि प्रभावित भएका छन् । सर्लाही इँटा व्यवसायी सङ्घका सचिव भगवान मैनालीका अनुसार शुक्रबार परेको वर्षाले काँचो इँटामा थप क्षति पुर्याएको छ ।