सर्लाहीको लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको चुरेवर्ती क्षेत्रमा जाने खोलाको बाटो तेस्रो पटक बाढीले बगाउँदा स्थानीयवासी पुनः सास्तीमा परेका छन् ।
शुक्रबार दिउँसो परेको भीषण वर्षापछि लखनदेही, डाइनी, फूलजोर, कालिन्जोर र बाँके खोलाको बाटो बगाएको हो । सामान्य अवस्थामा पानी नहुँदा खोला बगरबाट बस सञ्चालन हुँदै आएको थियो, जसले स्थानीयलाई लालबन्दी बजारसम्म आवतजावत तथा दैनिक उपभोग्य सामग्री किनमेल र उपचारका लागि सहज बनाउँदै आएको थियो ।
तर पछिल्लो बाढीले बाटो पूर्ण रूपमा बिगारेपछि शनिबारदेखि चुरे क्षेत्रमा जाने बस सेवा बन्द भएको छ । बस व्यवसायी तथा लालबन्दी नगरपालिका–१४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङका अनुसार स्थानीयवासीहरू गाडी चल्ने स्थानसम्म पुग्न घण्टौँ पैदल हिँड्न बाध्य भएका छन् । उनले मौसम सुधार भएपछि खोलाको बाटो मर्मत गरेर पुनः बस सञ्चालन गरिने जानकारी दिए । अहिले केही मोटरसाइकल र ट्याक्टर सीमित रूपमा सञ्चालन भए पनि बस सेवा भने केही दिन अवरुद्ध रहने बताइएको छ ।
चुरे क्षेत्रका बासिन्दाले बर्खा सुरु हुनु अघि नै बाटो मर्मत गरेर सेवा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । हाल सिन्धुलीसँग सीमा जोडिएको उक्त विकट क्षेत्रबाट चुरेफेदीसम्म पुग्न तीनदेखि चार घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको छ । बाढीका कारण मोटरसाइकल, एम्बुलेन्सलगायत सवारी साधन सञ्चालन नहुँदा आकस्मिक स्वास्थ्य समस्या पर्दा थप कठिनाइ हुने गरेको स्थानीयको गुनासो छ ।
लालबन्दी नगरपालिका–१३, १४, १५ र ईश्वरपुर नगरपालिका–१२ का चुरेवर्ती बस्ती अझैसम्म नियमित सडक सञ्जालमा जोडिन सकेका छैनन् ।