बाराको कलैयास्थित कलैया प्रादेशिक अस्पताल मा रेबिज रोगविरुद्धको (एआरभी) खोप अभाव हुँदा सर्वसाधारण बिरामीहरू गम्भीर समस्यामा परेका छन् ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप महिनौंदेखि अस्पतालमा नपाइँदा विपन्न तथा गरिब परिवारका नागरिकहरू चर्को मूल्य तिरेर निजी मेडिकलबाट सेवा लिन बाध्य भएका छन् ।
कुकुर वा बिरालोले टोकेर उपचारका लागि आउने बिरामीहरूले अस्पतालबाट खोप नपाउँदा निराश भएर फर्किनुपरेको गुनासो गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१७ का संजित कुमार चौधरीले निःशुल्क सेवा पाइने आशामा अस्पताल आए पनि खोप नपाएर निजी मेडिकलबाट ५ सय ६० रुपैयाँ तिरेर सुई लगाउनुपरेको बताए । उनले अस्पतालले पहुँचका आधारमा सेवा दिने गरेको आरोपसमेत लगाए ।
अस्पतालको एआरभी शाखाका अनुसार दैनिक ४० देखि ५० जना बिरामी रेबिजविरुद्धको उपचारका लागि आउने गरेका छन् । तर खोप अभावका कारण उनीहरूलाई बाहिरबाट खरिद गर्न सिफारिस गर्नुपर्ने अवस्था आएको छ ।
अस्पतालका अहेव रबिन्द्र कुमार यादवका अनुसार विगत तीन महिनादेखि खोपको अभाव छ । उनले बताएअनुसार पछिल्लोपटक चैत २८ गते ९० डोज खोप प्राप्त भए पनि बढ्दो बिरामीको चापका कारण वैशाख ४ गते नै सकिएको थियो। त्यसयता एआरभी सेवा पूर्ण रूपमा खोपविहीन बनेको छ ।
निःशुल्क पाउनुपर्ने जीवनरक्षक खोपमा समेत नागरिकले खर्च गर्नुपर्ने बाध्यताले सरकारी स्वास्थ्य व्यवस्थापनप्रति प्रश्न उठेको छ । स्थानीयहरूले नियमित आपूर्ति प्रणाली कमजोर हुँदा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएको बताएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजयकुमार गुप्ताले खोप अभाव भएको स्वीकार गर्दै सेवा वितरणमा कुनै पक्षपात नभएको स्पष्ट पारेका छन् । उनले आपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।
विशेषज्ञहरूका अनुसार रेबिज अत्यन्तै घातक रोग भएकाले समयमै खोप नलगाए ज्यान जोखिममा पर्न सक्छ । त्यसैले नियमित आपूर्ति र आपतकालीन स्टक व्यवस्थापन अत्यावश्यक रहेको उनीहरूको सुझाव छ ।