बाराको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयहरूको शुल्कमा एकरूपता ल्याउने प्रक्रिया अघि बढाएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजीव कुमार यादवका अनुसार निजी विद्यालयहरूले लिँदै आएको शुल्कमा देखिएको असमानतालाई व्यवस्थित गर्न आवश्यक गृहकार्य सुरु गरिएको हो ।
यसै सन्दर्भमा शुल्क निर्धारण समितिको बैठक भोलि बुधबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सरोकारवाला निकाय, विद्यालय सञ्चालकका प्रतिनिधि, शिक्षाविद् तथा अभिभावकहरूको सहभागिता रहने जनाइएको छ ।
महाशाखा प्रमुख यादवले अभिभावकहरूको गुनासो तथा प्रचलित शिक्षा नियमावलीलाई आधार मानेर विद्यालयहरूको वर्गीकरण र उपलब्ध सुविधाका आधारमा न्यायोचित शुल्क निर्धारण गरिने जानकारी दिए ।
उनका अनुसार जथाभावी शुल्क असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै शिक्षा क्षेत्रमा पारदर्शिता र मर्यादा कायम गर्न यो पहल गरिएको हो ।
उक्त बैठकबाट शुल्कको सीमा र मापदण्ड तय हुने अपेक्षा गरिएको छ । निर्णय कार्यान्वयनमा आएपछि कलैयाका हजारौँ विद्यार्थी तथा अभिभावक लाभान्वित हुने विश्वास लिइएको छ ।
उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधारसँगै शुल्क व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर अघि बढेको प्रमुख यादवले स्पष्ट पारे ।