सत्ता साझेदार दल जनमत पार्टी ले अचानक सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएपछि मधेश प्रदेश मा पुनः सत्ता फेरबदलको राजनीतिक कसरत सुरु भएको छ ।
पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको निर्देशनमा ९ जना प्रदेश सांसदले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएका हुन् । राउतले महासचिव चन्दन सिंहलाई संसदीय दलको नेता चयन गरेपछि जनमत पार्टीभित्रै दुई धार देखिएको छ ।
यसैबीच अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याणमन्त्री बसन्त कुशवाहा भने पद नछाड्ने अडानमा रहेका छन्। अर्थमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पत्र लेख्दै सरकारलाई जनमत पार्टीको समर्थन अझै कायम रहेको दाबी गरेका छन् ।
जनमत पार्टीभित्रको विवादकै बीच नयाँ सत्ता समीकरण बनाउने प्रयास तीव्र भएको छ । जनमत, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपाबीच नयाँ गठबन्धनको तयारी भइरहेको जनाइएको छ भने एमालेको पनि समर्थन खोजिएको बताइएको छ ।
तर जसपाले भने सरकार फेर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ। दलहरूबीच अनौपचारिक छलफल भइरहे पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको जनाइएको छ ।
जनमत पार्टीले कांग्रेस नेतृत्वको सरकार बजेट खर्च गर्न असफल र संघीयताको मुद्दामा कमजोर रहेको आरोप लगाउँदै सरकार परिवर्तनको पहल गरेको जनाएको छ ।
१०१ सदस्यीय मधेश प्रदेश सभामा सरकार टिकाउन आवश्यक बहुमतको अंकगणित फेरिन सक्ने देखिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै मधेश प्रदेशमा फेरि अस्थिरता बढ्ने संकेत देखिएको छ ।