राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा बोर्डको वेबसाइटमार्फत हेर्न सकिने जानकारी पनि दिइएको छ ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा यसपटक तुलनात्मक रूपमा छिट्टै सार्वजनिक गरिएको बोर्डले जनाएको छ । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा प्रकाशन प्रक्रिया सहज भएको बोर्डको भनाइ छ ।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन फारम भरेका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका बोर्डले जनाएको छ ।