वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार विभिन्न मुलुक पठाइदिने भन्दै रकम असुल गरी सम्पर्कविहीन भएका व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखा बस्ने ३७ वर्षीय सागर गौतम रहेका छन् । उनले युएई पठाइदिने भन्दै एक पीडितबाट ४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।
त्यसैगरी, न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा घोराही उपमहानगरपालिका–१० निवासी ३२ वर्षीय शम्भु गौतम पक्राउ परेका छन् । यस्तै, क्यानडा पठाउने प्रलोभनमा २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिद्धिचरण नगरपालिका–४ की ३७ वर्षीया सनम गुरुङ पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर रकम असुलेपछि लामो समयसम्म सम्पर्कविहीन भएका थिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।