प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिका–इरान तनावका कारण उत्पन्न इन्धन संकटले नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । मूल्यवृद्धिसँगै सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ पेट्रोलियम पदार्थको तस्करीसमेत बढ्न थालेको छ ।
निर्वाचनहुनु अघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५४ रुपैयाँ रहेकोमा अहिले बढेर २सय१४ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ सय २२ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि एक हजार ९ सय १० रुपैयाँबाट बढेर दुई हजार १ सय १० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ ।
नेपालमा लगातार मूल्यवृद्धि भइरहेका बेला भारतका पश्चिम बंगाल, तमिलनाडु र केरल राज्यमा निर्वाचनका कारण इन्धन तथा खाना पकाउने ग्यासको मूल्य नबढाइएको थियो । निर्वाचन सम्पन्न भइसकेपछि पनि त्यहाँ मूल्य स्थिर रहेकाले सीमावर्ती भारतीय बजारमा इन्धन सस्तो रहेको छ । हाल बिहार राज्यमा पेट्रोल प्रतिलिटर भारतीय रुपैयाँ १ सय ७ तथा डिजेल ९४ रुपैयाँमा बिक्री भइरहेको बताइएको छ ।
नेपाल र भारतबीचको मूल्य अन्तरका कारण सीमावर्ती क्षेत्रबाट पेट्रोलियम पदार्थको अवैध आयात बढ्दै गएको व्यवसायीहरू बताउँछन् । विशेषगरी पर्साका ग्रामीण क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरूमा इन्धनको माग घट्नुले पनि तस्करी बढेको संकेत गरेको छ ।
पर्सास्थित कृष्णा आयल स्टोरका अनुसार फागुन महिनासम्म दैनिक एक हजार लिटर पेट्रोल र दुई हजार लिटर डिजेल बिक्री हुँदै आएको थियो । तर पछिल्लो समय पेट्रोलको बिक्री घटेर दैनिक पाँच सय लिटर तथा डिजेलको बिक्री छ सय लिटरमा सीमित भएको छ ।
व्यवसायीहरूका अनुसार कृषि तथा व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने डिजेल र पेट्रोल भारतबाट अनधिकृत रूपमा नेपाल भित्रिने क्रम बढेको छ । भारतमा इन्धन सस्तो हुँदा नेपालतर्फ र नेपालमा सस्तो हुँदा भारततर्फ तस्करी हुने प्रवृत्ति रहँदै आएकोमा पछिल्ला दुई महिनादेखि नेपालतर्फको तस्करी बढेको देखिएको छ ।