अङ्क र अक्षर लेख्न नसकेको भन्दै पाँच वर्षीय बालकलाई निर्घात कुटपिट गरेको आरोपमा एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।
फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सुमित्रा सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत साढे चार वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा भाटा प्रहार गरी कुटपिट गरेको आरोप लागेको हो । घटनापछि बालकको ढाडभरि निलडाम देखिएको तस्बिर र समाचार सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरले शनिबार शिक्षिका सेन्दाङलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार उनीमाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटना सार्वजनिक भएपछि शिक्षिकालाई कारबाही गर्न दबाब बढेको थियो ।
विद्यालय प्रशासनले भने घटनापछि शिक्षिकालाई निलम्बन गर्नुका साथै पीडित बालकको उपचार खर्च बेहोर्ने जनाएको छ ।