सप्तरीका अजय कुमार यादव सेक्युरिटी गार्डका रूपमा मलेसिया जान तयारी अवस्थामा थिए ।
सरकारले लागू गरेको ‘फ्री भिसा, फ्री टिकट’ नीतिअनुसार अधिकतम १० हजार रुपैयाँ मात्र शुल्क लाग्ने भए पनि उनलाई कोटेश्वरस्थित ग्रान्ड स्विट जब म्यानपावरले ३ लाख रुपैयाँ माग गरेको खुलेको छ । यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर बाँकी रकम नदिएसम्म पासपोर्ट, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले उनलाई दबाब दिएको आरोप छ । वैशाख २९ गतेको फ्लाइट छुटेपछि म्यानपावरले थप २ लाख २० हजार रुपैयाँ बुझाए जेठ ३ गते उडाइदिने आश्वासन दिएको थियो। त्यसपछि यादव पैसा जुटाएर काठमाडौं आएका थिए ।
यसैबीच, उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा आफ्नो समस्या जानकारी गराएका थिए । मन्त्रीका स्वकीय उपसचिव सरोज यादवको समन्वयमा प्रहरीसहितको टोलीले तीनकुनेस्थित भेटघाट स्थलमा निगरानी गरेको थियो । सो क्रममा म्यानपावरका एक कर्मचारीले पासपोर्ट र कागजात आफूसँग रहेको भन्दै पैसा मागेपछि विवाद भएको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी अनुसन्धानका क्रममा ती एजेन्टले ३ लाख रुपैयाँ असुल्ने उद्देश्यले कागजात रोकेको खुलेको छ । उनको साथबाट चार वटा पासपोर्ट, हवाई टिकट तथा अन्य कागजात बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ । पीडित यादवले भने, “पहिले सबै प्रक्रिया मिल्छ, पैसा लाग्दैन भनियो। पछि भिसा आएपछि ३ लाख नदिए जान पाइँदैन भनियो । गरिब मान्छेलाई ऋण काढेर विदेश पठाउने नाममा यस्तो लुट हुनु गलत हो ।”
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा समस्या परे सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।