पृथ्वीमा पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली सङ्घ (EU) र चीनले संयुक्त रूपमा विकास गरेको ‘SMILE’ अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको छ ।
सूर्यबाट निस्कने तीव्र सौर्य हावा र प्लाज्मा विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोक्किँदा हुने प्रभाव बुझ्न यो महत्त्वाकांक्षी वैज्ञानिक अभियान सुरु गरिएको हो । वैज्ञानिकहरूका अनुसार यस्ता सौर्य आँधीले उपग्रह प्रणाली, सञ्चार सञ्जाल, अन्तरिक्ष स्टेशन तथा अन्तरिक्ष यात्रीहरूमा गम्भीर असर पार्न सक्छन् । साथै, यिनै प्रक्रियाका कारण ध्रुवीय क्षेत्रमा देखिने अरोरा (नर्दन लाइट्स र सदर्न लाइट्स) उत्पन्न हुने गर्छन् ।
‘SMILE’ अर्थात् Solar wind Magnetosphere Ionosphere Link Explorer नामक यो मिसन युरोपेली अन्तरिक्ष एजेन्सी (ESA) र चिनियाँ विज्ञान प्रतिष्ठान (CAS) को संयुक्त परियोजना हो । यसलाई पृथ्वीको चुम्बकीय क्षेत्रको पहिलो एक्स–रे अवलोकन गर्ने उद्देश्यसहित विकसित गरिएको हो ।
अन्तरिक्ष यान मङ्गलबार ग्रिनविच समयअनुसार बिहान ३:५२ बजे फ्रान्सेली गुयानाको कौरूस्थित युरोपियन स्पेसपोर्टबाट Vega-C रकेटमार्फत प्रक्षेपण गरिएको हो । उडानको करिब ५५ मिनेटपछि यान सफलतापूर्वक रकेटबाट अलग भएको जनाइएको छ ।
त्यसपछि यो पृथ्वी वरिपरि अत्यन्त अण्डाकार कक्षामा प्रवेश गर्दै आफ्नो यात्रामा अघि बढेको छ । योजनाअनुसार ‘SMILE’ दक्षिणी ध्रुवमाथि करिब ५,००० किलोमिटर र उत्तरी ध्रुवतर्फ करिब १,२१,००० किलोमिटर उचाइसम्म पुग्नेछ ।
यस कक्षाका कारण पहिलो पटक लगातार ४५ घण्टासम्म उत्तरी ध्रुवीय अरोराको अवलोकन सम्भव हुने वैज्ञानिकहरूको विश्वास छ । सौर्य हावा भनेको सूर्यबाट निरन्तर निस्कने ऊर्जा र सूक्ष्म कणहरूको प्रवाह हो। कहिलेकाहीँ हुने शक्तिशाली विस्फोट (कोरोनल मास इजेक्सन) ले विशाल सौर्य आँधी सिर्जना गर्छ, जुन अत्यन्त तीव्र गतिमा पृथ्वीतर्फ आउँछ ।
पृथ्वीको चुम्बकीय क्षेत्रले सामान्य अवस्थामा यस्ता कणहरूलाई रोक्ने भए पनि अत्यधिक शक्तिशाली आँधीले विद्युत् प्रणाली, सञ्चार नेटवर्क र उपग्रह सेवामा गम्भीर असर पार्न सक्छ । इतिहासमा सन् १८५९ को भू–चुम्बकीय आँधीलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिन्छ, जसले विश्वभर विद्युतीय प्रणालीमा ठूलो प्रभाव पारेको थियो ।
वैज्ञानिकहरूका अनुसार ‘SMILE’ मिसनले सूर्यबाट आएका कण र पृथ्वीको माथिल्लो वायुमण्डलबीचको अन्तरक्रियाबाट उत्पन्न हुने एक्स–रे संकेत अध्ययन गर्नेछ। यसले भविष्यमा आउने सौर्य आँधीको पूर्वानुमान गर्न र पृथ्वीलाई सम्भावित क्षतिबाट जोगाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यो मिसन प्रारम्भमा तीन वर्षका लागि तय गरिएको भए पनि सफल सञ्चालन भएमा अवधि थप गर्न सकिने बताइएको छ ।