इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद तथा गणतन्त्र दिवस को अवसरमा सरकारले देशभर लगातार चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालय को निर्णय तथा पूर्वनिर्धारित वार्षिक सार्वजनिक बिदा तालिकाअनुसार बिहीबारदेखि आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहने भएका हुन् ।
सरकारले बकर इद (इद–उल–अज्हा) को अवसरमा जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा रहने जानकारी गराएको थियो ।
यसैगरी, जेठ १५ गते शुक्रबार मुलुकभर गणतन्त्र दिवस मनाइने भएकाले सो दिन पनि सार्वजनिक बिदा कायम गरिएको छ । गणतन्त्र दिवसको बिदासम्बन्धी निर्णय यसअघि नै नेपाल राजपत्रमा प्रकाशित भइसकेको सरकारले जनाएको छ ।
त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले यसपटक लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।
लगातारको बिदाका कारण सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश प्रशासनिक सेवा चार दिनसम्म बन्द रहनेछन् भने सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ ।