सन् २०२६ को विश्वकपदेखि फुटबल नियममा महत्वपूर्ण परिवर्तन हुने भएको छ । फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाका अनुसार खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति रोक्ने उद्देश्यले नयाँ नियमहरू लागू गर्न लागिएको हो ।
नयाँ नियमअनुसार अब गोलकिपर घाइते भएको बहानामा खेलाडीहरूले कोचसँग सल्लाह गर्न मैदान बाहिर जान पाउने छैनन् । गोलकिपर घाइते हुँदा दुवै टोलीका खेलाडीहरू मैदानमै रहने वा सेन्टर सर्कल क्षेत्रमा बस्नुपर्ने व्यवस्था गरिएको छ। यसले खेलको बीचमा हुने ‘ट्याक्टिकल टाइमआउट’ रोक्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (IFAB) ले भिएआर (VAR) प्रोटोकलमा पनि परिवर्तन गरेको छ । अब कर्नर वा फ्रि-किक प्रहार हुनुअघि भएका फाउलहरू पनि भिएआरमार्फत समीक्षा गर्न सकिनेछ, तर यो व्यवस्था आक्रमणकारीले गर्ने फाउलमा मात्र लागू हुनेछ ।
खेलको गति बढाउनका लागि ‘काउन्टडाउन नियम’ पनि लागू गरिने भएको छ। जसअनुसार थ्रो–इन, गोल किक र खेलाडी परिवर्तनमा समय सीमित गरिनेछ । समय लम्ब्याएमा विपक्षी टोलीलाई लाभ दिने व्यवस्था समेत गरिएको छ। उपचारका लागि मैदान बाहिर जाने खेलाडी कम्तीमा ६० सेकेन्ड बाहिर बस्नुपर्ने नियम पनि लागू हुनेछ ।
यसैगरी, मैदानमा विवादका क्रममा मुख छोपेर बोल्ने खेलाडीलाई रातो कार्ड दिइनेछ। फिफाका अनुसार यसले अपमानजनक वा अनुशासनहीन व्यवहार नियन्त्रण गर्न मद्दत गर्नेछ ।
नयाँ भिएआर नियमअनुसार कर्नरको सही निर्णय तथा दोस्रो पहेंलो कार्डको समीक्षा समेत गर्न सकिनेछ । फिफाले यी परिवर्तनहरूलाई खेललाई अझ छिटो, पारदर्शी र निष्पक्ष बनाउने कदमका रूपमा व्याख्या गरेको छ ।