बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको तीव्र हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेपछि उपमहानगरपालिकाले राहत वितरण गर्ने तयारी गरेको हो ।
उपमहानगरपालिकाका अनुसार हावाहुरीका कारण घरको छाना उड्ने, टहरा तथा गोठ भत्किने तथा विद्युत् र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्रभावित परिवारहरूको वास्तविक अवस्था तथा क्षतिको मूल्याङ्कनका आधारमा राहत रकम उपलब्ध गराइने जनाइएको छ ।
नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले वडा स्तरीय विपद् व्यवस्थापन समितिको सिफारिस तथा स्थलगत निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा राहत वितरण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार आंशिक क्षति भएका परिवारलाई न्यूनतम ५ हजार रुपैयाँ र बढी क्षति भएका परिवारलाई अधिकतम १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइनेछ ।
प्रारम्भिक तथ्यांकअनुसार वडा नं. २२ मा करिब ५० घरधुरी तथा वडा नं. ११ मा करिब ४० घरधुरी प्रभावित भएका छन् । प्रभावित क्षेत्रका वडाध्यक्ष, जनप्रतिनिधि तथा प्राविधिक टोलीले क्षतिको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएका छन् ।
उपमहानगरपालिकाले विपद्को समयमा नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने दायित्वअनुसार तत्काल राहत कार्यक्रम अघि बढाइएको जनाएको छ । साथै, प्रभावित परिवारको पुनःस्थापनाका लागि थप पहल गरिने पनि उल्लेख गरिएको छ ।
स्थानीयवासीहरूले प्राकृतिक विपद्को कठिन अवस्थामा उपमहानगरपालिकाले राहतको निर्णय गरेकोमा स्वागत गर्दै प्रभावित परिवारलाई शीघ्र राहत वितरण गर्न आग्रह गरेका छन् ।
नगरपालिकाले राहत वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ ।