काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्रबाट १ किलो २६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा ३७ वर्षीया सुमित्रा देवी रहेको प्रहरीले जनाएको छ । थाइ एयरमार्फत बैंककबाट काठमाडौं आएकी सुमित्रा देवीको विमानस्थलको आगन्तुक क्षेत्रमा जाँच गर्ने क्रममा ब्यागेजमा अर्धतरल सुन फेला परेको थियो। उक्त सुन ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरिएको अवस्थामा भेटिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि थप अनुसन्धानका लागि सुमित्रा देवीलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।
प्रहरीले सुन तस्करीको विषयमा गहन अनुसन्धान गरिरहेको छ । हाल सुमित्रा देवीलाई हिरासतमा राखेर घटनाको थप विवरण संकलन भइरहेको छ ।