नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो गिरावटसँगै सुन र चाँदी दुवैको मूल्यमा थप कमी आएको छ ।